एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल’ भ्रमण वर्ष मनाइने

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । आज पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिए ।

उनले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताए । त्यसका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टीपौवालगायत सङ्ख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको उनले जानकारी दिए । पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ । सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ । यसो गरेमा तोकिएको सङ्ख्यामा पर्यटक पुर्‍याएर स्थानीयले अझबढी आर्थिक लाभ लिनसक्ने हाम्रो विश्वास छ, अध्यक्ष राईले भने ।

भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने आयोजकको योजना छ । मुन्दुम ट्रेलमा किराती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ ।

पूर्वपर्यटनमन्त्री सुदन किरातीले मुन्दुम ट्रेल सांस्कृतिक मार्ग भएकाले यो अरु मार्गभन्दा भिन्न रहेकाले त्यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, मुन्दुम ट्रेल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ । यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ । यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नसके धेरै राम्रो हुन्छ किनकि कसैलाई लालीगुँरास हेर्न मनपर्ला कसैलाई कुहिरो । रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक सङ्ग्रहालयको अवधारणाअनुसार अगाडि बढौँ ।

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म यो ट्रेलको प्रवर्द्धन हुन नसक्ने बताए । यस्ता खालका पर्यटकीय ट्रेललाई स्थानीय तहले नै प्रवर्द्धन गर्ने हो । कति धेरै ट्रेलहरु हराएर गएका छन् । त्यसलाई हामी बचाउन खोजिरहेका छाँै । गाडीको बाटो चाहिन्छ तर ट्रेल बनाइरहँदा वैकल्पिक बाटो पनि खोज्नुपर्छ, उनले भने ।

कार्यक्रममा पाँच जनालाई मुन्दुम ट्रेल पर्यटन दूत पनि घोषणा गरिएका छन् । गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउण्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *