खच्चडको उद्धार गर्ने दुई प्रहरीलाई नगद पुरस्कार
खच्चडको उद्धारमा संलग्न दुई प्रहरीलाई सुदूरपश्चिम प्रदेश प्रहरीले पुरस्कृत गरेको छ ।
अछामको इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो । अछामको चिल्तडा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरेका हुन् । एक साताअघि अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए ।
पुलमा अड्केका खच्चडलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो । करिब ८ घण्टा पुलमा फसेका खच्चरलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए ।
प्रतिक्रिया