एकीकृत समाजवादीको नेतृत्व सहमतिमा चयन गर्नुपर्छः खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
सोमबार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै नेता खनालले पार्टीको आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए ।
नेताहरुको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने उनको भनाइ थियो ।
‘एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ । पार्टी भनेको त्यस्तै हो । त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो । त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ,’ उनले भने ।
खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया