गाउँघरमै पाइने नाइट्रोजन नचिन्दा विदेशिन्छ करोडौँ रुपैयाँ
सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल खरिदका लागि बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ।
गाईभैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ, त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउँछ।
गाईभैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब फेर्छ । एउटा किसानको घरमा दुई वटा ठुला पशु छन् भने वार्षिक चार हजार ३८० लिटर पिसाब फेर्छन्। एक वर्षमा सो मूत्र प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ। यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुने उनले बताए।
वरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले परापूर्वकालदेखि नै गोठेमललाई महत्त्व नदिएकै कारण यसलाई जथाभावी राख्ने, त्यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभावले नेपाली किसान वार्षिक ठूलो घाटा बेहोर्न बाध्य भएको बताए।
गोठेमलको उचित व्यवस्थापन र भण्डारण गर्न नजान्दा नेपालले बर्सेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया गुमाइरहेको बताए। त्यसको सट्टामा अर्बौँ मूल्य बराबरको रासायनिक युरिया मल खरिद भइरहेको उनले बताए । एकै पटक धेरै आम्दानी बढाउन रासायनिक विषादी तथा मलको जथाभावी प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याएको उनले दाबी गरे।
गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तरलाई गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल भए पनि त्यसको प्रयोग राम्रोसँग हुन भने सकेको छैन । नेपालमा जैविक मलको मुख्य स्रोतका रूपमा सोही मलको प्रयोग गरिन्छ।
गोबर, मूत्र, सोत्तर तथा झारपातको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन। यसरी रासायनिक मलमाथिको निर्भरता हटाउन सकिने भए पनि यसको प्रभावकारी रूपमा प्रयोग भने हुन विज्ञ बताउँछन्। यो समाचार गोरखापत्र दैनिकमा छ
प्रतिक्रिया