मुस्लिम बस्तीमा बकर इदको चहलपहल

अहिले महोत्तरीका गाउँनगर बस्तीमा इस्लाम धर्मावलम्बीको दोस्रो मुख्य चाड इद–उल–जोहाको चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन बकर इद पनि भनिने यो पर्व मनाइन्छ ।

यसअनुसार नेपाली मुसलमान भोलि सोमबार इद–उल–जोहा मनाउने तयारीमा छन् । इद–उल–जोहा इस्लाम परम्परामा इद–उल–फित्रपछिको मुख्य पर्व मानिन्छ ।

पर्वले गर्दा मुस्लिम बाहुल्य बस्तीमा निकै चहलपहल बढेको छ । महोत्तरीका १५ वटै स्थानीयतहमा मुस्लिम बसोबास छ । यीमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, रामगोपालपुर र भङ्गाहाका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्य छन् ।

यी बस्तीमा पर्वको एक दिनअघि नै कुर्बानी ९बलि० का लागि खसी, राँगा जुटाइँदैछन् । यसैगरी मुस्लिम बसोबासका अन्य बस्तीमा पनि बकर इदको रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केपछि परिवारजनमा खुसी थपिएको छ ।

बकर इद पर्वमा कुर्बानीका लागि पशु किन्दा मुस्लिम सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ ।

पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (इश्वर)लाई समर्पित गर्दै पशु कुर्बानी दिन्छन् । यसलाई कुविचार तथा अहंकारको कुर्बानीको प्रतीकात्मक रुपमा बुझ्न सकिने भङ्गाहा–४ का सहबुल अन्सारी बताउँछन् ।

इस्लाम धर्मावलम्बीले कुर्बानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ । निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् ।

सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोरा जस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्बानी भएको हुँदा यसै घटनालाई सम्झेर बकर इदमा पशु कुर्बानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्बानी अल्लाहमा समर्पित मानिन्छ ।

घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी (धर्मगुरु)लाई कुर्बानीस्वरुप रकम पठाउने गर्छन् । बकर इद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् ।

यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पुज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउँछन् ।

आत्मशुद्धि, अल्लाहको पुकारा र अहंकारको त्याग (कुर्बानी) पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरुका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो । इद–उल–जोहा पर्वका लागि सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर