अन्तिम खेलमा टेस्ट राष्ट्रलाई हराउने लक्ष्यमा नेपाल
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको जारी टी–२० विश्वकपमा नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल सोमबार बिहान खेल्दै छ ।
टेस्ट टोली तथा दक्षिण एसियाली देश बंगलादेशसँगको प्रतिस्पर्धामा नेपाल जितका लागि उत्रिनेछ । नेपालको समूह चरणको ३ खेल सकिसकेको छ । अमेरिकाको डालासमा भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । फ्लोरिडामा श्रीलंकासँगको खेल वर्षाले रद्द भएको थियो । दुवै टोलीले एक–एक बाँडेका थिए । वेस्ट इन्डिजको भिसेन्टमा शनिबार बिहान दक्षिण अफ्रिकासँग भएको खेलमा भने नेपालले गजबकै प्रदर्शन ग¥यो । बलियो टेस्ट टोली दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेर नेपालले आफू पनि यो मञ्चका लागि योग्य भएको तथ्य प्रस्तुत ग¥यो । तर, जितका लागि भने नेपाल अभागी साबित भयो । १ रनले दक्षिण अफ्रिकासँग हार व्यहोरेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले भने, ‘हामी जितको एकदम नजिकै थियौं, त्यतिकै टाढा पनि ।’
खेलपछि नेपाल विश्वकपबाट बाहिरिसकेको छ । उक्त खेलपछि विश्वभर अहिले क्रिकेटका संस्था तथा दिग्गज क्रिकेटरहरुले नेपालको खेलको प्रशंसा गरेका छन् । फ्यानको गजब क्रेजका कारण पनि चर्चित भएको नेपाल र नेपालीलाई शिर उचो राख्न क्रिकेको सर्वोच्च संस्था आईसीसीले नै आग्रह गरेको थियो । पीडादायक उक्त हारलाई बिर्सेर सोमबार बिहान नेपाली क्रिकेट टोली बंगलादेशसँग उत्रिनेछ । यद्यपि, उक्त हारका कारण नेपाल फ्यान र नेपाली टोली सबै दुःख छन् ।
आइतबार पत्रकारहरुसँगको कुराकानीमा नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाई आफूहरु ३ अंकको बारेमा सोचिरहेको बताउँछन् । ‘कम्तीमा हामी जितको साथ गर्वको क्षण लिएर फर्कनेछौं,’ उनले भने । ‘दक्षिण अफ्रिका छनोट भइसकेको थियो, हामीले यो प्रतियोगितामा केवल आफ्नो क्षमता देखाउन र खेलमा जीवित रहन आवश्यक थियो’ मुख्य प्रशिक्षक देसाई भन्छन्, ‘नेपाल जस्तो युवा खेलाडी भएको एसोसियट टोलीको मानसिक बलको परीक्षा यहीँबाट हुनेछ ।’ बंगलादेशका फास्ट बलर तान्जिम हसनले नेपाललाई हलुका रूपमा नलिएको बताएका छन् । ‘टी–२० मा सानो र ठूलो टिम भन्ने नै छैन । सबै टिम उत्तिकै अब्बल छन्’ उनले भने, ‘हामी हाम्रो लयमै रहेर आक्रामक खेल खेल्नेछौं ।’
प्रतिक्रिया