भेरी नदीमा बेपत्ता दुुई युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरीमा बेपत्ता भएका थिए ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले १२ः३५ बजे भुपेन्द्रको र १२ः४० बजे विनोदको शव ३० फिट गहिराईबाट निकालेको हो ।
यसैगरी कास्की जिल्लाको पोखरा–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराइबाट निकालेको हो ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ मा साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया