लोकसेवा आयोगलाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । उनले वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीको समाना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश आजको आवश्यकता भएको बताएका हुन् ।

लोकसेवा आयोगको ७४ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्नसक्ने कर्मचारीको छनोटमा आयोगले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

‘आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रका रुपमा सधैँ आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ,’ उपराष्ट्रपति यादवले भने, ‘कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र भर्नाले प्रशासनिक सङ्गठनमा स्थायी खराबी प्रवेश गर्न सक्नेतर्फ आयोग सदैव सचेत हुन जरुरी छ ।’

आयोग योग्यताका सबै तत्वहरु अवलम्बन गरी परीक्षण विधिमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै अघि बढ्नु सकारात्मक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्दै आएकामा खुसी व्यक्त गरे ।

‘आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशीता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्तअनुसार कार्यसम्पादन गर्नु प्रशंसनीय छ, यी सिद्धान्तले आयोगको कामप्रतिको जनविश्वास पनि बढाएको छ । यसलाई कायम राख्न नितान्त जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर