दाहाललाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैन: महामन्त्री थापा

कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् ।

शनिबार कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन् ।

प्रधानमन्त्री केका लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाइ छ । उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए ।

‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलि पनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसावकिताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मूलत एमाले र माओवादी पार्टीहरुको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,’ उनले भने ।

महामन्त्री थापाले विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । उनले प्रधानमन्त्री दाहालले जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको आरोप लगाए ।

‘बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा एमाले सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन । नयाँ राजनीतिक दलहरुको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरु केही पनि छैन,’ थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *