सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयोः खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उनको भनाइ थियो ।

‘सांसद निर्वाचित भइसकेपछि अहिले सरकारमा गएपछि हामीले अर्को कुरा पनि देखिरहेका छौँ । हामीले एउटा महत्वपूर्ण कुरा के देखिरहेका छौँ भन्दा शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा हाम्रो साथीहरु सबैले अनुभव गरिरहेका छाँै । किन भन्दा अहिले सरकारको नेतृत्व गरिहेको छौं, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धी नहुने गरी चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं,’ मन्त्री श्रेष्ठले भने ।

उहाँले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको धारणा राखे ।

‘केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुप¥यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ । सत्तारुढ दलहरुमा पनि यसलाई पुनरवलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *