टिकटकमाथि प्रतिबन्ध कहिले हट्ला ? यसो भन्छिन् सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटकलगायत कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको जानकारी दिइन् ।

‘हामीले टिकटक क्याबिनटेबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ,’ उनले भनिन् ।

सरकारले नेपाल टेलिकमलगायत ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताउँदै उनले नियम कानूनको पालना गर्नेहरुले टिकटक चलाउन नहुने जनाइन् । मन्त्री शर्माले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको धारणा राखिन् ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषदमा पेश गरिएको जानकारी दिँदै उनले अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको उनले बताइन् ।

मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनै पनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् । टिकटक नाममा समस्या नभई कन्टेन्टमा समस्या रहेको उनको भनाइ थियो ।

टिकटकले जुन कन्टेन्टहरु दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ । हामीले फेसबुक सञ्चालकहरुसँग भेटेका छौँ । उहाँहरुसँग हामीले उहाँहरुलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौं,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर