बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् किन्ने

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार विद्युत् किन्ने निर्णय गरेको हो ।

समितिले मूल्य पनि तोकेको छ । प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी समितिले निर्णय गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात हुने छ । यसका लागि भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच त्रिपक्षीय सम्झौता हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ जनाएको छ । भारतको भूभाग प्रयोग गर्दा ०.०५९५ शुल्क पर्ने उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

नेपाल भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ । बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *