१६६१ वडाका केन्द्रबाट बस्तीसम्म अझै पुगेन यातायात सञ्जाल

देशभर ६ हजार सात सय ४३ वडा छन् । जसमध्ये एक हजार ६ सय ६१ वडाका केन्द्रबाट गाउँबस्तीसम्म पुग्न सवारीसाधन प्रयोग नै हुँदैनन् जुन कुल वडाको २४.६ प्रतिशत हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो संघीय सामुदायिक अध्ययनले देखाएको हो । यो जनगणना ०७८ को अंश हो । तथ्यांकअनुसार एक हजार ६ सय ६१ वडाका केन्द्रबाट गाउँबस्तीमा पुग्न पैदल यात्राको कुनै विकल्प छैन । पैदल यात्राको विकल्प नरहेका वडामा सबैभन्दा धेरै कर्णाली प्रदेशमा चार सय २५ र सुदूरपश्चिममा तीन सय ४१ को संख्यामा छन् ।

त्यस्तै, केन्द्रबाट गाउँबस्तीसम्म पुग्न सवारीसाधन मात्रै प्रयोग गरिने वडाहरू दुई सय १८ छन् जुन कुल वडाको ३.२ प्रतिशत हो । वडाको केन्द्रबाट गाउँबस्तीसम्म पुग्नका लागि सवारीसाधन र पैदल दुवै प्रयोग हुने वडाहरू भने चार हजार आठ सय ६४ छन् ।

९८.४ प्रतिशत वडामा कृषि उत्पादन
देशका ९८.४ प्रतिशत वडामा कृषिजन्य वस्तुहरू केही न केही भए पनि उत्पादन भएको देखिन्छ । कोशी प्रदेशका सबै वडामा कृषि उत्पादन हुने गरेको छ । त्यस्तै, सुदूरपश्चिमका ९९.९ प्रतिशत वडामा र गण्डकीका ९९.६ प्रतिशत वडामा कृषिजन्य उत्पादन हुने गरेको छ । कर्णाली प्रदेशका ९९.३ वडामा कृषिजन्य उत्पादन हुने गरेकोमा बागमतीमा सबैभन्दा कम ९५.९ प्रतिशत वडामा कृषिजन्य वस्तुको उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

सबै प्रदेशमा अन्नबाली, दालबाली, तेलहनबाली, कन्दमूल, तरकारीबाली, नगदेबाली, मसलाबाली, फलफूल, अमिलोजन्य र अन्य स्थायी बालीहरू क्रमशः उल्लेखनीय उत्पादन हुने गरेको देखिन्छ । दुध, दही, घिउको उत्पादन पनि राम्रै देखिन्छ । पशुपालन तथा माछापालनसमेत कतिपय वडाहरूमा मुख्य उत्पादनको रूपमा छन् ।

अन्नबाली सबै प्रदेशका वडामा समान प्रकारले उत्पादन भए पनि दालबाली क्रमशः मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका वडाहरूमा बढी उत्पादन हुने, कन्दमूल गण्डकी र बागमती प्रदेशमा, तेलहन बाली लुम्बिनी प्रदेशमा, नगदेबाली मधेश प्रदेशमा, मसलाबाली कोशी प्रदेशमा, तरकारीबाली मधेश र बागमती प्रदेशमा, अमिलो बाली गण्डकी र कर्णाली प्रदेशमा, फलफूल कोशी, मधेश र कर्णाली प्रदेशमा र अन्य स्थायी बाली कोशी प्रदेशका वडाहरूमा देखिन्छ ।यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर