फ्लोरिडामा अत्यधिक वर्षा, नेपाली टिम वेस्टइन्डिज जान पाएन
आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए ।
अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरू रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।
जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल वर्षाका कारण रद्द हुँदा श्रीलङ्कासँग एक–एक अंक बाँडेको थियो ।
प्रतिक्रिया