ओलीलाई आलेको सुझाव: संसद् विघटनको कुरा नकोट्याए हुन्थ्यो

माओवादीका राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद् विघटन गरेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्ता समीकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखेका हुन् ।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसद आलेमगरले भने, ‘केही दिनअघि प्रतिनिधि सभा विघटनलाई जष्टिफाई गर्ने कुराहरू पनि भए । हुन त हरेक कुराको सन्दर्भ हुन्छ । त्यसको औचित्य र उपादेयता पनि हुन्छ । त्यो घटना बितिसकेको छ । तर यहाँ उठेको हुनाले मैले केही कुरा गर्न चाहे । कुरा सुन्दा कस्तो लाग्यो भने आफ्नो घरमा घरका सदस्यहरू बिच झगडा भयो । घर मूलीले आफू समेत भएको साझा घर भत्काइदियो । आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला । त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला । आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला । जे जे भए पनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो । त्यो नकोट्याएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो विषयमा मैले पनि कुरा राखे । यति बेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौँ । नयाँ समीकरण बनाएर हामी हिँडिरहेका छौँ । त्यसैले यी बितेका कुराहरू सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याइदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमानदार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे । उनले भने, ‘बजेट कार्यान्वयनका लागि इमानदारिता चाहियो । यो इमानदारिता हामी राजनीतिकर्मीहरू त केही दिनका पाहुना हौँ । स्थायी सरकारले यो काम गर्नुपर्ने हुन्छ । यसका लागि स्थायी सरकार इमानदार देखिनुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि म आग्रह गर्न चाहन्छु । जुन जुन निकाय त्यसका लागि जिम्मेवार हुन्छ । उहाँहरूको ध्यान यसमा पुगेस् भन्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर