
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो ।
सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा मोदीलाई बधाई दिनुका साथै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । प्रधानमन्त्री दाहाल आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
उनका साथमा छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया