१० महिनामा १० अर्ब ७० करोडको जीवन बीमा पोलिसि ‘सरेन्डर’

चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा जीवन बिमा पोलिसी खरिद गरेर सरेन्डर गर्ने बिमितको संख्या ५.५० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ८७ हजार दुई सय एकजनाले जीवन बिमा पोलिसी बन्द गरेको नियामक निकाय नेपाल बिमा प्राधिकरणको वैशाखसम्मको तथ्यांकले देखाएको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५.५० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ८२ हजार ६ सय ४८ जनाले पोलिसी बन्द गरेका थिए । गत आर्थिक वर्षभर भने ९६ हजार नौ सय ३८ जना बिमितले बिमा पोलिसी सरेन्डर गरेका थिए ।

हाल नेपालमा १४ जीवन बिमा कम्पनी सञ्चालनमा छन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले पोलिसी सरेन्डर गर्ने बिमितको संख्या बढेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अघिकृत (सिइओ) शिवनाथ पाण्डेले बताए । ‘अझै पनि नेपालको अर्थतन्त्र शिथिल अवस्थामै छ । त्यसले गर्दा केही बिमितहरूको आम्दानी खस्किएको छ । त्यसले गर्दा उनीहरूले पोलिसी नवीकरण गर्न सकेका छैनन्,’ उनले भने, ‘उल्टै आफ्नो आर्थिक अभाव व्यवस्थापन गर्न पोलिसी बन्द गरेर पैसा फिर्ता लाने गरेका छन् । मुख्यतः अहिले आर्थिक शिथिलताकै यस्तो अवस्था आएको हो ।’ कतिपय अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा पोलिसी सरेन्डर गरेका पनि हुन सक्छन् । तर, अहिले पोलिसी सरेन्डर बढ्नुको मुख्य कारण वर्तमान समयमा देखिएको आर्थिक शिथिलता नै भएको उनको भनाइ छ ।

नवीकरण नभएको पोलिसी भने निष्क्रिय (ल्याप्स) भएर बस्नेछ, जुन पोलिसीले बिमितको जोखिम बहन गर्दैन । बिमितले नवीकरण शुल्क तिरेर त्यस्तो पोलिसी सक्रिय बनाउन सक्नेछन् । साथै, बन्द गरेर रकम फिर्ता पनि लिन सक्नेछन् ।
आमबिमितले निश्चित अवधि तोकेर जीवन बिमा गर्ने गर्छन् । विशेष गरी १०, १५, २०, २५ वर्षलगायत अवधि राखेर बिमा गरिन्छ । कम्पनीले पनि सोही अवधिभर नै सम्बन्धित बिमितको जोखिम कभर गर्छन् । तर, तीन वर्षको किस्ता तिरेपछि बिमितहरूले अवधि नसकिँदै पनि पोलिसी बन्द (सरेन्डर) गरेर रकम फिर्ता लैजान सक्छन् । बिमितले तिरेको बिमाशुल्क र पोलिसी सक्रिय भएको अवधिको बोनस पैसा गणना गरेर एकमुस्ट (सरेन्डर रकम÷भ्यालु) फिर्ता गरिनेछ । यद्यपि, त्यसमा कम्पनीले जोखिम बहन गरेबापत निश्चित शुल्क भने काट्न सक्छन् । कम्पनीले सरेन्डर भ्यालुबराबरको शुल्क भुक्तानी गरे पनि पोलिसी बन्द हुनेछ ।

यद्यपि, नेपालको बिमा बजारमा केही अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा नियमित पोलिसी सरेन्डर गर्दै आएका पनि छन् । कतिपय अभिकर्ताले कम्पनी परिवर्तन गर्दा आफ्नो नजिकका बिमितलाई पनि सँगै लिएर जाने सानिमा रिलायन्स लाइफका सिइओ पाण्डे बताउँछन् । ‘कतिपय बिमितले कम्पनीलाई भन्दा पनि अभिकर्तालाई बढी विश्वास गर्छन् । कतिपय बिमित अभिकर्ताको नजिककै व्यक्ति पनि हुन्छन् । त्यो अवस्थामा अभिकर्ताले कम्पनी परिवर्तन गर्दा बिमित पनि सँगै जाने गर्छन्,’ उनले भने, ‘अभिकर्ताले पहिलाको कम्पनीमा पोलिसी बन्द गर्न लगाएर नयाँ कम्पनीमा लैजान्छन् । यस्तो प्रवृत्ति सामान्य रूपमा नियमित छ ।’

यस्तै, अर्का एक कम्पनीका सिइओले अभिकर्तालाई बिमा अवधिभर कमिसन नदिने नीतिका कारण पनि पोलिसी बन्द हुने गरेको बताए । ‘२०–२५ वर्षको अवधि राखेर बिमा गरिन्छ । तर, अभिकर्तालाई १० वर्ष मात्र कमिसन दिने नीति छ,’ उनले भने, ‘त्यो अवस्थामा अभिकर्ताले कमिसनका लागि १० वर्षपछि पोलिसी बन्द गर्न लगाएर पुनः बिमा गराएका पनि हुन सक्छन् । यस्तो अवस्था आउन नदिन अभिकर्तालाई बिमा अवधिभर कमिसन दिने नीति ल्याउन आवश्यक छ कि जस्तो लाग्छ ।’

पहिला बिमा गरेको दुई वर्षसम्म पोलिसी बन्द गर्न पाइने थिएन । अभिकर्ताले कमिसनका लागि नियोजित रूपमै पोलिसी बन्द गराउँदै बिमा गराउने गरेको पाइएपछि नेपाल बिमा प्राधिकरणले चैत ०७७ मा निर्देशन जारी गर्दै बिमा पोलिसी किनेको दुई वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने सीमालाई तीन वर्ष पु¥याएको थियो । तैपनि, पोलिसी सरेन्डर बढ्ने क्रम जारी नै छ । यसलाई न्यूनीकरण गर्न नियामक निकायले आवश्यक पहल गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

रकमका आधारमा भने पोलिसी सरेन्डर घटेको छ । गत आवको समीक्षा अवधिमा ११ अर्ब ३४ करोड ४६ लाख ९३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । चालू आवको समीक्षा अवधिमा १० अर्ब ७० करोड तीन लाख नौ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षभर भने १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको थियो । पोलिसीअनुसार बिमांक रकम फरक–फरक हुन्छ ।

समीक्षा अवधिमा १४ जीवन कम्पनीले एक खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेका छन् । त्यसको ८.८१ प्रतिशतको अनुपातबराबरको रकममा पोलिसी सरेन्डर भएको देखिन्छ । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै पोलिसी सरेन्डर भएको छ । समीक्षा अवधिमा उक्त कम्पनीमा २४ हजार तीन सय ३० जनाले पोलिसी सरेन्डर गरेका छन् । उक्त कम्पनीमा रकमका आधारमा तीन अर्ब ८० करोड २४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

यसै एलआइसी नेपालका १७ हजार दुई सय ९६ बिमितले पनि पोलिसी बन्द गरेका छन् । रकमका आधारमा त्यहाँ दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँ पोलिसी सरेन्डर भएको छ ।यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *