कान्तिपुर सेभिङको अर्बौं रकम अपचलन गर्ने सीबी लामा जेल चलान
कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि थुनामा पठाएको हो ।
उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ लामाले सहकारीको अर्बौं रकम अपचलन गरेको आरोप छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । लामा सहितको समूहले कान्तिपुर र पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो । कान्तिपुर सेभिङको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।
प्रतिक्रिया