भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आज शपथ लिँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आज साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । राष्ट्रपति द्रौपदी मुर्मरुले मोदीलाई शपथ गराउने छिन् ।
मोदी र उनको मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूको ठूलो जमघटमा हुने बताइएको छ । शुक्रबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले मोदीलाई भाजपा संसदीय दलको नेतामा निर्वाचित भएको पत्र बुझाएपछि भारतका राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेकी थिइन् । साँझ सवा सात बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद्का अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछिन् ।
बिजेपी आफ्नै बलमा बहुमत अंकमा पुग्न असफल भएपछि तेस्रो कार्यकालका लागि नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड तथा चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देशम पार्टीले एनडीएको सरकार गठनमा प्रभावकारी भूमिका खेलेका छन् । बीजेपीले प्रमुख मन्त्रालयआफूसँग राख्ने अपेक्षा गरिएको छ ।
यसैबीच, इन्डिया ब्लकले विपक्षी दलका नेताहरूलाई सपथ ग्रहण समारोहका लागि निमन्त्रणा नगएको दाबी गरेको छ । कांग्रेसका महासचिव केसी वेणुगोपालले नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा उपस्थित हुन सरकारबाट कुनै जानकारी नपाएको बताएका छन् । शपथग्रहण समारोहको पूर्वसन्ध्यामा भारतको राजधानी नयाँदिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति भवन वरपर तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
प्रतिक्रिया