तत्काल एमालेसँग एकताको सम्भावना देखिएनः अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।

एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनको भनाइ थियो । नेता नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको बताउँदै उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको जानकारी दिए ।

‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ,’ नेपालले भने ।

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको बताए । देश विकास हुने मार्गहरुको पहिचान गरी अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर