आगामी चुनावसम्म कांग्रेस प्रतिपक्षमै रहन्छः महामन्त्री थापा

कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।

कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् ।

महामन्त्री थापाले २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर संगठन निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन् । तीन वर्षको समय पार्टीलाई पुनर्निर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन,’ उनले भने ।

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे ।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर