सहकारी छानविन समितिको पहिलो बैठक : दुई दिनभित्र कार्यविधि बनाउने निर्णय

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो । कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचिमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूचि भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए । उनले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिवद्धता पनि त्यही रहेको बताए ।

उनले भने– ‘बैठकमा समितिको कामलाई अगाडी बढाउने सन्दर्भमा छलफल गरेका छौँ । आज हामीले परिचय सँगसँगै सामान्य केही निर्णय मात्रै गरेका छौँ । जस्तो, कार्यविधि बनाउनुपर्ने छ । समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न सचिवालयलाई निर्देशन दिएका छौँ । त्यसमा कार्ययोजना, ३ महिनाको निर्धारित समयलाई मध्यनजर गरेर समयभित्रै काम सम्पन्न गर्नेगरी समितिले गर्नुपर्ने कामको कार्ययोजना र कार्यविधिको मस्यौदा गर्न जिम्मा दिने काम भएको छ । सभामुखज्यूले औपचारिक रुपमा प्रतिनिधि सभाबाट पारित समितिको टिओआर, यसको राजनीतिक सहमती, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेजपनि हामीलाई हस्तान्तरण गर्नुभएको छ । हामीले बढीमा दुई दिनभित्र कार्यविधि मस्यौदा गरिसकेपछि त्यसलाई छलफल गरेर टुंग्याउन अर्को बैठक गर्नेगरी आजको बैठक सकिएको छ । विवादको कुनै कल्पनै नगर्नुस् अहिले । सहकारीको समस्यालाई समाधान गर्नेगरी, तोकिएका अनुसूची भित्रका सहकारीहरुमा केन्द्रित भएरै हामीले काम सम्पन्न गर्नुपर्छ भन्ने छलफल भएको छ । आज बैठक बसेको मितिले तीन महिना गणना हुन्छ । समितिका सबै सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि सम्पन्न गर्नुपर्छ भन्ने प्रतिवद्धता राख्नुभएको छ । बैठकको आजको प्रतिवद्धता पनि त्यहीँ छ ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताए । उनले आफूहरु कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले भने – ‘तीन महिनाको लागि समय दिने । १५÷१५ दिन थपेर पुनः तीन महिना पु¥याउने प्रचलन पनि नभएको होइन । तर बोल्ने क्रममा सबै सांसदहरुले के राख्नुभयो भने तीन महिनाभित्र सक्नुपर्छ । रातदिन नभनी काम गरौँ भनेर सामान्य समझदारी कायम गरेका छौँ ।’

समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताए । उनले समितिले गर्ने कामहरु सर्वसम्मत निर्णयको आधारमा हुने बताए ।

उनले भने – ‘हामीलाई सदनले दिएको जुन म्याण्डेट छ, कार्यादेशको मातहतभित्र बसेर कार्यावधिभित्रै हाम्रो काम पूरा गर्छौं । हामीले अल्पमत बहुमतमा गर्दैनौँ । सर्वसम्मत रुपमा निर्णय प्रक्रिया गर्छौं । टिओआरको मातहतमा बसेर समस्या समाधानको उपायसहितको प्रतिवेदन तयार पारेर सिफारिस गर्छौं । सहकारी ठगहरुलाई कारबाहीको सिफारिस, सहकारी पीडितहरुलाई न्याय निरुपण गर्नका लागि सिफारिस गर्छौं ।’

समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने बताए । आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताए ।

उनले भने – ‘आज छलफल हुँदै गर्दाखेरी सबै माननीयज्युहरुको यो जिम्मेवारीलाई तोकिएको तीन महिना भित्र नै पूरा गरौँ भन्ने स्प्रिट आज मैले पाएँ । हामीले गम्भीरतापूर्वक पनि लिएका छौँ र दिएको समयावधिभित्र काम गर्नुपर्छ भन्ने स्प्रिट पनि छ समितिमा ।’

समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर