अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छ: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ आवधिक योजनाको सोच, गणतन्त्रको डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई ख्याल गरिएको बताएका छन् ।
उनले सांसदहरूको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेका प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको बताए ।
आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकाले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने विश्वास व्यक्त गए ।
विगतका आवमा पुँजीगत खर्चमा भएको वृद्धि, स्रोत सुनिश्चित गरिएका आयोजना र सिर्जित दायित्व भुक्तानी तथा आगामी वर्ष सम्पन्न हुने आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिएको उनले जानकारी दिऐ । ‘यीलगायत बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको वृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएको हुँदा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट छ प्रतिशत आर्थिक वृद्धि हासिल हुने विश्वास दिलाउन चाहन्छु,’ अर्थमन्त्री पुनले भने ।
मुलुकको चालु आवको कूल ग्रार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा बजेटको आकार महत्वाकांक्षी नरही सन्तुलित रहेको अर्थमन्त्री पुनको भनाइ छ । बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको उनको दाबी छ ।
आगामी आवका लागि कूल खर्च रु. १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ । यो खर्च अनुमान चालु आवको विनियोजनका तुलनामा छ दशमलव दुई प्रतिशत बढी हो । चालु आव २०८०/८१ मा चालु खर्च ६५ दशमलव २ प्रतिशत, पुँजीगत खर्च १७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थामा १७ दशमलव ५५ प्रतिशत रहेकामा आगामी आव चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया