बाँदरमुढे घटनाको १९ वर्ष पूरा

तत्कालिन विद्रोही माओवादीले गराएको बाँदरमुढे घटना भएको आज १९ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १९ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ ।

घटना भएको स्थलमा आज मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गर्ने र दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ । घटनाका बेला माओवादीको कमाण्डर बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि प्रधानमन्त्री भएका छन् । तर प्रचण्डले यसअघि पटक पटक गरेको वाचा पुरा नगरेको पीडितहरुको गुनासो छ ।

मानवता विरोधी घटना भएको १९ वर्ष पुगिसक्दा पनि पीडितले न्याय नपाएको बाँदरमुढे घटना पीडित लेखनाथ अधिकारी (कृष्ण) बताउँछन् । घटनालाई माओवादीले अहिले पनि राजनीतिक विषय बनाइरहेको भन्दै उनले पीडितले न्याय नपाउँदा पीडा जस्ताको त्यस्तै रहेको बताए ।

तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि उक्त घटनामा मृत्यु भएको थियो ।

यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३८ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर