सशस्त्र प्रहरी ऐनको मस्यौदा : १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी विधेयक २०८१’ को मस्यौदा गृह मन्त्रालय पुगेको छ ।

उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवा हद हटाई उमेर हद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान समेटिएको नयाँ ऐनको मस्यौदा सशस्त्र प्रहरी बलले गृहमा बुझाएको हो । केही दिनअघि प्राप्त मस्यौदामाथि गृहले छलफल सुरु गरेको  जनाएकाे छ ।

१६ वर्षमै निवृत्तिभरण (अवकास) सुविधा दिने विषयमा अध्ययन गर्न मन्त्रालयले सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वमा अध्ययन समिति बनाएको छ । यसअघि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि निवृत्तिभरणको उमेर १६ वर्षमै घटाइने बताउँदै आएका थिए ।

हालको ऐनमा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्ष रहेकोमा एक वर्ष घटाएर नयाँ ऐनको मस्यौदामा महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नै पदावधि एक वर्ष घटाउने प्रस्तावसहितको ऐनको मस्यौदा अघि बढाएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।

हाल सशस्त्र प्रहरीमा महानिरीक्षक सीधै सरकारले नियुक्त गर्ने व्यवस्था रहेकोमा नयाँ ऐनको मस्यौदामा महानिरीक्षक बढुवाका लागि बढुवा समितिको अवधारणा समावेश गरिएको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा समितिको प्रस्ताव गरिएको हो ।

यसैगरी मस्यौदामा एआईजीको चार, डीआईजीको पाँच, एसएसपीको ६ र एसपीको आठ जोड दुई वर्ष पदावधिको प्रस्ताव गरिएको छ । आइजीपी अनिवार्य अवकाश हुनुभन्दा १५ दिनअघि अनिवार्य बिदामा बस्नुपर्ने प्रस्ताव गरिएको छ । त्यसअघि बढुवा समितिको बैठक बसेर सिफारिस गर्नुपर्ने व्यवस्था गर्न मस्यौदामा प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी नेतृत्व चयनलाई अनुमानयोग्य बनाई नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउन ऐनमै यस्तो प्रावधान राखिएको हो ।

मस्यौदामा ३० वर्षे सेवा हदको प्रावधान हटाएर अवकाशको उमेर हद बढाइएको छ । राजपत्राङ्कित अधिकृतको ६० वर्ष, राजपत्र अनङ्कित अधिकृतहरूको ५५, बिल्लादार तथा जवानको ५१ र परिचरको ५५ वर्ष राखिएको छ ।

यसै गरी निवृत्तिभरणको न्यूनतम नोकरी अवधि संशोधन गरिएको छ । राजपत्राङ्कित कर्मचारीलाई २० वर्ष, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकलाई १८ वर्ष तथा अन्य कर्मचारीलाई १६ वर्षमा निवृत्तिभरण हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

हाल सबैको न्यूनतम जागिर अवधि २० वर्ष छ । यो प्रावधान स्वीकृत भएमा निवृत्तिभरणमा उपचार खर्चलगायत सुविधा बढ्ने छ । १५ देखि २० वर्ष सेवामा रही सेवाबाट अलग भएका कर्मचारीले उपचार खर्चमा १० प्रतिशत थप पाउने प्रस्ताव मस्यौदामा गरिएको छ । पदावधिको कारण निवृत्तिभरणका लागि नोकरी अवधि नपुगेमा बाँकी रहेको उमेर अवधिलाई समेत गणना गरेर निवृत्तिभरण दिने प्रावधान मस्यौदामा समेटिएको छ ।

प्रस्तावित ऐनको मस्यौदामा बढुवासम्बन्धी प्रावधान हेरफेर गर्न लागिएको छ । हालको सशस्त्र प्रहरी नियमावलीको प्रावधान अनुसार बढुवा समितिले सय पूर्णाङ्कमा तजबिजीका आधारमा पाँच नम्बर दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर तीन नम्बर मात्र दिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । विभूषणबापतको दुई नम्बर पनि हटाइएको छ । बढुवालाई पारदर्शी बनाउन यस्तो प्रस्ताव राखिएको हो ।

मस्यौदामा कार्यसम्पादन मूल्याङ्कनबापत ४०, ज्येष्ठताको २५, शैक्षिक योग्यताको सात, तालिमको २०, चुनौतीपूर्ण काम गरेको पाँच र बढुवा समितिले तीन अङ्क दिने उल्लेख छ । शैक्षिक योग्यताको सात नम्बरमा कमान्ड एन्ड स्टाफ कलेजबापत दुई नम्बर राखिएको छ । स्टाफ कलेज नगरेका अधिकृतलाई डिआइजीसम्म बढुवा दिने प्रस्ताव पनि मस्यौदामा गरिएको छ ।

एसएसपीसम्मका सशस्त्र प्रहरी कर्मचारीले अवकाशको एक महिनाअघि विशेष बढुवा पाउने व्यवस्था थपिएको छ । न्यूनतम पाँच वर्ष पदावधि पुगेका सशस्त्र प्रहरीलाई यस्तो सुविधा दिन लागिएको छ ।

खेलाडीका लागि छुट्टै पुल दरबन्दी बनाउने प्रस्ताव गरिएको छ । खेलाडी तथा अदम्य साहसका साथ काम गर्ने प्रहरी अब एसपीसम्म विशेष बढुवा हुन पाउने भएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई सङ्गठनले एसपीसम्मको पदमा बढुवा गर्न सक्नेछ ।

सशस्त्र प्रहरीमा भर्नाको उमेर अवधि पनि हेरफेर गर्न मस्यौदामा प्रस्ताव गरिएको छ । साधारण समूहतर्फ इन्स्पेक्टरमा २१ देखि २७ वर्ष, जवानमा १८ देखि २२ वर्ष, परिचरमा १८ देखि २५ वर्ष उमेर राखिएको छ । दरबन्दी रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिने व्यवस्था गरिएको छ । यसै गरी सीमा क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरी बलमा भर्ना गर्दा कोटा दिने प्रस्ताव गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा मर्यादा पालक इकाइ राख्ने र सशस्त्र प्रहरी विशेष अदालतले तीन महिनादेखि एक वर्षसम्म कैद सजाय सुनाउन सक्ने प्रस्ताव गरिएको छ । प्रहरी कर्मचारीलाई विवाह बिदा, असाधारण बिदा, पर्यटन बिदाजस्ता सुविधा थप गरिएको छ । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले सुधारतर्फ कमान्डमा जाँदा र फर्कँदासमेत सम्पत्ति विवरण बुझाउनुपर्ने नयाँ प्रावधान राखिएको सशस्त्र प्रहरी स्रोतले बतायो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नयाँ ऐनको मस्यौदामाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया

One thought on “सशस्त्र प्रहरी ऐनको मस्यौदा : १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

  1. सर जुन 2075 साल देखि पछि को भर्ति हुनेहरुले pensan नपाउने एकैचोटी अनुदान पाउने रैछ हाम्रो लागि चाई यो हटायर सबै लाई पेन्सन आउने कार्यनयन भये हामी 2075 पछि भर्ती हुने हरु खुशी हुने छ्म यसो गर्दा हामी मात्र हैन हामी सबै रास्ट्रसेबक हरुको मुहार मा खुशी छाउने छ सर् अनि गर्व का साथ देश प्रती कार्यनन गर्न मन लाग्छ्🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *