कृषिमन्त्री साहको गुनासो- मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन् ।

मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन् । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उहाँले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन् । कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताइन् ।

मन्त्री साहले भनिन्, ‘हाम्रो खाद्य प्रविधि गुण नियन्त्रण विभाग छ । यसको बदनामी नआओस् । यसमा आपेक्ष नलागोस । हाम्रो विभाग एउटा नमूना विभाग हो । हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनु पर्छ । हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम । मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा । प्रगतिको कुरा सुनेकै छैन । यो फलानालाई बनाउनु हुँदैन है, खराब छ । अर्को आयो, त्यो खराव छ भन्छ । ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु ? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ । कस्तो मन्त्रालय रहेछ भनेजस्तो पनि लाग्न थालिसक्यो । कृषि मन्त्रालय कस्तो रहेछ ? विभागहरु कस्तो रहेछ ? यस्तो पनि लाग्न थालेको छ मलाई । यस्तो लागेको थिएन । म त तेस्रो कार्यकाल समात्दै छु । तर बुझदै जाँदा यस्तैमा दिन बिताउँदो रहेछ ।’

मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । सो अवसरमा मन्त्री साहले नेपाल फुड एण्ड फिड इण्डस्ट्री लाइसेन्सिङ सिस्टम (एनइएफएफआईएलएस) सफ्टवेयरको शुभारम्भ समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर