देशका विभिन्न भागमा विद्युत कटौती गरेकोमा सांसदहरुको आक्रोश

देशका विभिन्न सहरहरूमा विद्युत् कटौती हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।

तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत् आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् ।

 सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४/५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत् कटौती हुने गरेको भन्दै आपत्ति जनाइन् ।

उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत् आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत् कटौती नगर्न सरकारलाई दबाब दिए । उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत् आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सांसद चौधरीले भने, ‘नेपाल विद्युत् प्राधिकरणले व्यापक रुपमा विद्युत् कटौती गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत् कटौती नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रुपमा भएको छ । यसको नियन्त्रण हुनुप¥यो ।’

यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले खानेपानीको व्यापार हुने र जनताले पीउने पानी पनि नपाउने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराए ।  उनले नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिए हुने सुझाव समेत दिए ।

सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरुका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर