सौराहालाई हनिमुन सिटी बनाऔंः धनराज गुरुङ

कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् । नवविवाहित जोडीहरु घुम्न जाने सहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने उनले बताए ।

त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ । रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रुपमा विकास गर्नुपर्ने सांसद गुरुङले बताए । यसो गरेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनको भनाइ छ ।

‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नवदुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिउँ । अर्को कुरा भन्नैपर्छ । नो नट अगेन भ्यु टावर । डाडाँमा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ,’ गुरुङले भने ।

उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके २ खर्ब राजस्व उठ्ने बताए । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानूनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर