सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन् । उनले छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दूधको दूध पानीको पानी हुनेगरी छानबिन गर्नुपर्ने बताए । उनले सहकारी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने धारणा राखे ।
‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन् । म सरकारलाई भन्छु सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महशुस गरेका छन्,’ केसीले भने ।
उनले राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोष्टमबाट बोलेर अरुलाई दोषी देखाएर आफ्नो कर्तुत जोगाउन लागेको बताए ।
प्रतिक्रिया