आफ्नो सांसदको हत्या आरोपित काठमाडौंबाट पक्राउ परेको बंगलादेशको दाबी
बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न एक मुख्य अभियुक्त बिहीबार काठमाडौंबाट पक्राउ परेको बंगलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले जनाएको छ ।
उक्त सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने व्यक्ति सियाम हुसेन हुन् । समाचारमा सियामलाई सुपुर्दगी गर्न बंगलादेशी दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ ।
ढाका महानगरीय प्रहरी (डिएमपी) को चार सदस्यीय जासूस शाखा (डिबी) टोली हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेको पनि उक्त मिडियाले जनाएको छ ।
‘यस सम्बन्धमा डीबीका प्रमुख अतिरिक्त आयुक्त हरुनोर रशिदले सियामलाई नेपालमा पक्राउ गरेको कुरा आफूले सुनेको बताए,’ समाचारमा उल्लेख छ, ‘यसबाहेक अन्य अभियुक्त पनि हत्यापछि नेपाल गएको सम्भावना छ । हामी सबै पक्षलाई विचार गरेर त्यहाँ जाँदै छौं ।’
सांसद अनवरुल उपचारका लागि गत मे १२ मा दर्शन–गेडे सीमा नाका पार गरेर भारत पुगेका थिए । उनी पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा रहेका आफ्ना साथी गोपाल विश्वासको घरमा बसेका थिए ।
भोलिपल्ट, उनी दिउँसो डाक्टरलाई भेट्न गए र साँझ फर्कने अपेक्षा गरिएको थियो । तर, विश्वासलाई उनको फोनबाट पठाइएको ह्वाट्सएप सन्देशमा उनी दिल्ली गएको र आवश्यक परेमा फोन गर्ने बताए ।
त्यसयता उनीसँग फोनमा सम्पर्क हुन सकेको थिएन । अन्ततः सरकारले भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा उनको मृत्युको पुष्टि गरेको थियो ।
नेपाल प्रहरीले भने बंगलादेशी सांसदका हत्या आरोपी काठमाडौंबाट पक्राउ परेको बारे अनविज्ञता प्रकट गरेको छ ।
प्रतिक्रिया