टी-२० विश्वकप आजदेखि सुरु, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

आईसीसी टी–२० विश्वकप आजबाट अमेरिकामा शुरु हुँदैछ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ। उदघाटन खेलमा अमेरिका र आयोजक आमने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार सवा ६ बजे डलासमा सुरु हुनेछ।

अमेरिकाले टस जितेर बलिङ गर्ने भएको छ। टस हारेको क्यानडाले ब्याटिङ गर्नेछ। वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो। अमेरिकामा क्रिकेटलाई लोकप्रिय बनाउने लक्ष्यसहित विश्वकप अमेरिकामा पुर्याइएको हो।

प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो। इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो। प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।

सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्। यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन्। आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन्।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन्। यस्तै समूह ‘बी’मा साविक विजेता इंग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश नेपाल र नेदरल्याण्ड्स रहेका छन्।

सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। उक्त आठ टोलीलाई सुपर आठमा चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन्।

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ। आयोजक अमेरिका र क्यानडाबीच हुने उद्घाटन खेल टेक्ससको डलासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ। यस रंगशालाले विश्वकपको ४ खेल आयोजना गर्नेछ। यस्तै वेस्ट इन्डिजको सिर भिभिन रिचार्ड स्टेडियममा ८, प्रोभिड़न्स स्टेडियममा एक सेमिफाइनलसहित ६, ड्यारेन स्यामी क्रिकेट ग्राउण्डमा ६,अर्नोस भाले स्टेडियममा ५, ब्रायन लारा क्रिकेट एकेडेमीमा एक सेमिफाइनलसहित ५ र केंसिन्टन ओभलमा फाइनलसहित ९ खेल हुनेछ।

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्रय, अमेरिका, नेपाल, क्यानाडा, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाएका छन्। अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी विश्वकपमा फर्किएका छन्।

कुन देश कहिले बने च्याम्पियन ?

हालसम्म विश्वकपका आठ संस्करण सकिँदा वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई तथा भारत, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान १ पटक उपाधि उचालेका छन्। टी–२० विश्वकपको पहिलो संस्करण आयोजना गर्ने जिम्वेवारी दक्षिण अफ्रिकाले पाएको थियो। प्रतियोगिता सन् २००७ को सेप्टेम्बर ११ देखि २४ सम्म भएको थियो।

जहाँ १२ राष्ट्रले सहभागिता जनाएका थिए। प्रतियोगिताको उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिडेका थिए। पाकिस्तानलाई ५ रनले पराजित गर्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो। दोस्रो संस्करणको आयोजना गर्ने जिम्मेवारी इङ्ल्यान्डले पायो। प्रतियोगिता सन् २००९ जुन ५ देखि २१ सम्म तीन मैदानमा भएको थियो। प्रतियोगितामा ९ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश रे तथा तनि एसोसिएट राष्ट्र स्टकल्यान्ड, नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागिता जनाए।

प्रतियोगिताको उपाधिका लागि पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गरेका थिए। पाकिस्तानले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउँदा श्रीलंका पहिलो पटक उपाधि नजिक पुगेको थियो। लर्डस क्रिकेट मैदानमा श्रीलंकाविरुद्ध आठ विकेटको जित निकाल्दै पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बन्यो। तेस्रो संस्करणको आयोजना जिम्मेवारी वेस्ट इन्डिजलाई दिइएको थियो। प्रतियोगिता २०१० अप्रिल ३० देखि मे १६ सम्म भएको थियो।

प्रतियोगितामा १० टेस्ट राष्ट्र, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा दुई एसोसिएट राष्ट्र अफगानिस्तान र आयरल्यान्डले सहभागिता जनाए। प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र अस्ट्रेलिया भिडेका थिए। अस्ट्रेलियाविरुद्ध ७ विकेटको जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बन्यो।

चौथो संस्करण सन् २०१२ मा श्रीलंकाले आयोजना गरेको थियो। प्रतियोगिता सेप्टेम्बर १८ देखि अक्टोबर ७ सम्म तीन मैदानमा भएको थियो। प्रतियोगितामा १० टेस्ट राष्ट्र, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा दुई एसोसिएट राष्ट्र आयरल्यान्ड र अफगानिस्तानले सहभागिता जनाए। प्रतियोगिताको उपाधिका लागि श्रीलंका र वेस्ट इन्डिज भिडेका थिए। श्रीलंका दोस्रो र वेस्ट इन्डिज पहिलो पटक फाइनलमा पुगेका थिए। घरेलु टोली श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै वेस्ट इन्डिज पहिलो पटक विश्व च्याम्पियन बन्यो।

पाँचौं संस्करण सन् २०१४ मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा भएको थियो। तीन मैदानमा भएको प्रतियोगितामा १० टेस्ट र ६ एसोसिएट राष्ट्रयले सहभागिता जनाएका थिए। १६ राष्ट्रले सहभागिता जनाएको यो पहिलो विश्वकप हो। अघिल्ला चार संस्करणमा १२ राष्ट्र सहभागी थिए। टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा एसोसिएट राष्ट्र नेपाल, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, हङकङ र युएईले सहभागिता जनाए।

नेपालले डेब्यूमै राम्रो प्रदर्शन गरे पनि पहिलो चरणमै सिमित बन्यो। पहिलो चरणमा नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले पराजित गर्दा बंगलादेशसँग ८ विकेटको हार ब्यहोरेको थियो।

उपाधिका लागि श्रीलंका र भारत आमने सामने भए। श्रीलंका तेस्रो र भारत दोस्रो पटक फाइनलमा पुगेका थिए। उक्त प्रतियोगितामा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बन्यो।

छैटौं संस्करणको आयोजना गर्ने जिम्मेवारी भारतले प्राप्त गरेको थियो। प्रतियोगिता २०१६ मार्च ८ देखि अप्रिल ३ सम्म ७ मैदानमा भएको थियो। १० टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र जिम्बावे तथा ६ एसोसिएट राष्ट्र आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, हङकङ, नेदरल्यान्ड्स र ओमानले सहभागिता जनाए।

प्रतियोगिताको उपाधिका लागि वेस्ट इन्डिज र इङ्ल्यान्ड भिडेका थिए। दुवै टोलीले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए। इडेन गार्डेन क्रिकेट मैदानमा इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज दुई पटक उपाधि जित्ने पहिलो राष्ट्र बन्यो।

सातौं संस्करणको आयोजना गर्ने जिम्मेवारी पनि भारतले नै पाएको थियो। तर कोरोना महामारीका कारण प्रतियोगिता युएई र ओमानमा सन् २०२१ अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म भयो। प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान तथा ५ एसोसिएट राष्ट्र स्कटल्यान्ड, ओमान, पपुवा न्युगिनी, नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाए। अघिल्लो संस्करणमा सहभागिता जनाएका जिम्बावे र हङकङले यसपटक स्थान बनाउन सकेनन्। नयाँ टोलीका रूपमा थपिएका नामिबिया र पपुवा न्युगिनिका लागि यो डेब्यू विश्वकप थियो।

प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड भिडेका थिए। अस्ट्रेलिया दोस्रो र न्युजिल्यान्ड पहिलो पटक फाइनल पुगेका थिए। दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलिया पहिलो पटक विश्व च्याम्पियन बन्यो।

आठौं संस्करणको विश्वकप सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा भएको थियो। ७ मैदानमा भएको प्रतियोगितामा १२ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, आयरल्यान्ड, जिम्बावे र अफगानिस्तान तथा चार एसोसिएट राष्ट्र स्कटल्यान्ड, युएई नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाए।

अघिल्लो संस्करण खेलेका ओमान र पपुवा न्युगिनी अनुपस्थित हुँदा युएई र जिम्बावे विश्वकपमा फर्किएका थिए। प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र पाकिस्तान प्रतिस्पर्धा गरेका थिए। दुवै टोली तेस्रो पटक फाइनल पुगेका थिए। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्ड दोस्रो पटक च्याम्पियन बन्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर