‘सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासीन बन्न मिल्दैन’

सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासीन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा सांसदहरुले कानूनको कार्यान्वयनको सन्दर्भमा समेत सशक्त दबाबको आवश्यकता रहेको बताएका हुन् । उनीहरुले श्रम र रोजगार सम्बन्धी समस्याको पहिचान गरी समाधान गरेर अघि बढ्न जरुरी रहेको बताए । सरकारको कार्यक्रम र बजेटमा श्रमको आवश्यकताअनुसार श्रोत सुनिश्चित गर्न जरुरी रहेको सांसदहरुको भनाइ छ ।

सामाजिक सुरक्षा कोष करिव ५७ अर्ब रुपैयाँ जम्मा भएकाले त्यो रकम सरकारले कसरी परिचालन गरेको छ ? भन्नेबारेमा छानबिन हुनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद हेमराज राईले श्रम ऐन कार्यान्वयनको सन्दर्भमा सशक्त दबाबको आवश्यकता रहेको बताए । उनले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासीन बन्न नहुने बताए । ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको करिब ५७ अर्ब रुपैयाँ कसरी परिचालन भइरहेको छ र राज्यले कसरी प्रतिनिधित्व गराइरहेको छ ? भन्नेबारेमा छानबिन हुन जरुरी रहेको बताइन् । उनले संगठित क्षेत्र, नौपचारिक क्षेत्र र वैदेशिक रोजगारीको क्षेत्रमा सामाजिक सुरक्षा कोष कार्यान्वयमा लैजाने भनिएपनि हालसम्म कुनै अनौपचारिक क्षेत्रमा लागू हुन नसक्नु दुःखको विषय भएको बताइन् ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले युवाहरु श्रम बजारमा आफूलाई बेच्न आतुर हुनुले विकराल स्थिति आएको बुझ्न सकिने बताइन् । उनले युवा शक्ति देशमा नभए भविष्यको अवस्था पीडादायी बन्ने बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुने होडबाजीलाई राज्यले रोक्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रमुख कार्यक्रम अधिकृत सलोमान राजवंशीले कानून कार्यान्वयनमा सरकारले गम्भीर्यता देखाउनु आवश्यक रहेको बताए । श्रम ऐन कार्यान्वयको लागि सरकारले एक्शन प्लान बनाएर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *