टी-२० विश्वकप : कुन देशले कति पटक जिते ?
आइसिसीले टेस्ट र एकदिवसीय क्रिकेटको तुलनामा थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन अर्काे फम्र्याट अवधारणा ल्यायो । जसलाई टी–२० फम्र्याट नाम दिइयो । छोटो समयमै टी–२० क्रिकेटले विश्वव्यापी नै मार्केट लिन सफल भएको छ । चार घण्टाभित्र नै नतिजा आउने भएपछि पाँच दिनसम्म चल्ने टेस्ट र ५० ओभरको एकदिवसीय बिस्तारै टी–२० खेलअगाडि छायामा पर्दै गयो । यद्यपि, टेस्ट र एकदिवसीय खेलको आफ्नै मौलिकपना र इतिहास छ । यसलाई समर्थकले त्यतिकै समानका साथ हेर्ने र पछ्याउने गर्छन् ।
सुरुमा इंग्ल्यान्डमा टी–२० खेल चलेको थियो । इंग्ल्यान्डबाट यो बिस्तारै टेस्ट खेल्ने प्रमुख राष्ट्रहरूमा लोकप्रिय बनिरहेको छ । भारतमा विश्वकै चर्चित लिग इन्डियन प्रिमियर (आइपिएल)को १७ संस्करण गत साता सम्पन्न भयो । वेस्ट इन्डिजको क्यारिबियन लिग, अस्ट्रेलियाको बिग वास तथा अफगानिस्तानको प्रिमियर लिगजस्ता टी–२० लिग निरन्तर रूपमा चलिरहेका छन् ।
आइसिसीले फ्रेन्चाइज लिगसँगै यसको विश्वकप प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ सन् २००७ मा टी–२० विश्वकप आयोजना गर्यो । अहिले अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप नवौँ संस्करण हो । अहिलेसम्म वेस्ट इन्डिज र इंग्ल्यान्डले समान दुईपटक विश्वकप उपाधि जितेका छन् । पहिलो संस्करणको विजेत भारत हो । दक्षिण एसियामा पाकिस्तान र श्रीलंकाले पनि समान एकपटक उपाधि जितेका छन् ।
सन् २००७ मा भारत च्याम्पियन
दक्षिण अफ्रिकाको जोहानसबर्गमा पहिलो संस्करणको फाइनल भएको थियो । पहिलो ब्याटिङ गरेको भारते २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५७ रनको मध्यम योगफल खडा गरेको थियो । कप्तान महेन्द्रसिंह धोनीको कुशल रणनीतिमा पाकिस्तानले सहज खेल नै गुमाएको थियो । पाकिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर एक सय ५२ रन जोड्यो । भारतले पहिलो संस्करणको फाइनल पाँच रनले जित्यो ।
सन् २००९ मा पाकिस्तान च्याम्पियन
इंग्ल्यान्डको भूमिमा भएको विश्वकपको फाइनलमा लगातार पाकिस्तान पुग्यो । विश्वकपको पहिलो दुई संस्करणको उपाधि भिडन्त दक्षिण एसियाली राष्ट्रबीच भयो । श्रीलंकाले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ३८ रन मात्र बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले १८.४ ओभरमा दुई विकेटको क्षतिमा उपाधि जित्यो । पाकिस्तानको कप्तानी युनिस खानले गरेका थिए ।
सन् २०१० मा इंग्ल्यान्ड च्याम्पियन
वेस्ट इन्डिजले एकदिवसीयपछि टी–२० विश्वकप सफलतापूर्वक आयोजना गर्यो । ब्रिजटाउनमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हरायो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले १७ ओभरमा तीन विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै जित निकाल्यो । इंग्ल्यान्डलाई पहिलोपटक क्रिकेटको विश्वकप दिलाउँदा कप्तान पाउल कलिउडले गरेका थिए ।
सन् २०१२ मा वेस्ट इन्डिज च्याम्पियन
विश्वकप क्रिकेट पुनः एकपटक दक्षिण एसियामा फर्कँदा वेस्ट इन्डिजले उपाधि उचाल्यो । श्रीलंकाको प्रेमादासा रंगशालामा वेस्ट इन्डिजले घरेलु टोलीलाई ३६ रनले हराउँदै च्याम्पियन ट्रफी उचाल्यो । वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । फाइनलमा चुकेको श्रीलंकाले १८.४ ओभरमा सबै विकेट गुमाएर एक सय एक रन मात्र जोडेको थियो । डेरन सामीको कप्तानीमा रहेको वेस्ट इन्डिजले श्रीलंकालाई १८.४ ओभरमा अलआउट गरेको थियो ।
२०१४ मा श्रीलंका च्याम्पियन
सन् २००७ देखि ०१२ सम्मको संस्करणमा श्रीलंका दुईपटक उपविजेता बनेको थियो । विश्व च्याम्पियन बन्ने सपना श्रीलंकाली खेलाडीले बंगलादेशमा गरेका थिए । बंगलादेशको सेर बंग्ला रंगशालामा भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पार्यो । पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । लथिस मलिंगाको कप्तानीमा रहेको श्रीलंकाले १७.५ ओभरमा चार विकेट गुमाएर एक सय ३४ रन बनायो ।
२०१६ मा वेस्ट इन्डिज च्याम्पियन
भारतमा आयोजना भएको विश्वकपमा वेस्ट इन्डिजले रेकर्ड नै राख्यो । वेस्ट इन्डिजले कोलकाताको इर्डन गार्डेन रंगशालामा इंग्ल्यान्डलाई चार विकेटले हराउँदै दोस्रोपटक विश्वकप उपाधि उचाल्यो । त्यसवेलासम्म टी–२० विश्वकप दुईपटक जित्ने वेस्ट इन्डिज मात्र थियो । पछि इंग्ल्यान्डले वेस्ट इन्डिजको रेकर्ड बराबरी गरेको थियो । इंग्ल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रन बनायो । प्रत्युत्तरमा वेस्ट इन्डिजले १९.४ ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन जोड्यो ।
सन् २०२१ मा अस्ट्रेलियाको जित
कोभिड–१९ को महामारीका कारण विश्वकप निर्धारित समयमा हुन सकेन । कोभिडका कारण विश्वकप आयोजना हुन चार वर्ष लाग्यो । युएई र ओमानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रनको बलियो लक्ष्य अस्ट्रेलियालाई दियो । प्रत्युत्तरमा अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट मात्र गुमाएर एक सय आठ सय ७३ रन बनायो ।
सन् २०२२ मा इंग्ल्यान्ड च्याम्पियन
एक वर्षको अन्तरमा टी–२० विश्वकप भयो । अस्ट्रेलियाले प्राप्त समयमै विश्वकप आयोजना गरेको थियो । मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै दोस्रोपटक विश्व च्याम्पियन ट्रफी उचाल्यो । पाकिस्तानले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय ३८ रनको योगफल खडा गर्यो ।
प्रतिक्रिया