माधव नेपाल मसँग सल्लाह गरेरै कांग्रेसको बैठकमा जानुभएको हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सत्ता समीकरण तलमाथि नहुने कुरामा ढुक्क हुन पार्टीका सांसदहरुलाई आग्रह गरेका थिए।

बैठकमा प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा सहभागी भएको बताएका थिए।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री दाहालले नेताहरु प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भए पनि वर्तमान सत्ता समीकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरुलाई आश्वस्त पारेका थिए।

पाण्डेले भने, ‘मिडियाहरुमा पनि आइरहेको सत्ता समीकरणमा नै भएका राजनीतिक दलहरु पनि प्रतिपक्ष दलको बैठकमा गएको भन्ने सुनिएको छ, यो कुरा के हो? भनेर माननीय सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले बडो रमाइलो ढंगले के भन्नुभयो भने– यो समीकरणको नेतृत्व गरिरहेको म आफैं बुढानिलकण्ठ गएको तपाईंहरुले थाहा पाउनु भएन र!  म आफैँ पनि गएको थिएँ। यसकारणले कोही कतै जाँदा, सुन्दा ठीकै हुने हुन्छ। हाम्रो समीकरणमा अहिले कतै केही हुँदैन। तपाईंहरु ढुक्कका साथ अगाडि बढ्नुहोला भनेर उहाँले यो जवाफ दिनुभयो। उहाँ जानुभन्दा अघि हामी राजनीतिक तहमा कहीँ कुरा गर्न जानुपर्‍यो भने कन्फ्युज नहोस् भनेर एक आपसमा सल्लाह गरेर नै जान्छौँ। त्यहाँ सल्लाह भएर नै जानुहुन्छ। त्यसकारण समीकरणमा कहीँ त्यस्तो असजिलो आउने हो कि भन्ने जुन आशंका छ, त्यस्तो आशंका गर्नुपर्दैन भन्ने विषयवस्तु पनि राख्नुभयो, माधव नेपाल पनि सल्लाह गरेर नै जानुभएको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *