सशस्त्र प्रहरीका खेलाडीहरू एसपीसम्म हुन पाउने

सशस्त्र प्रहरी बलका खेलाडी तथा अदम्य साहसका साथ काम गर्ने प्रहरी अब एसपीसम्म विशेष बढुवा हुन पाउने भएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई संगठनले एसपीसम्मको पदमा बढुवा गर्न सक्नेछ ।

संगठनमा व्यापक नीतिगत सुधारसहित सशस्त्र प्रहरी बलले नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको छ । मस्यौदामा भनिएको छ, ‘अदम्य साहस, वीरता प्रदर्शन गरी वा अन्य प्रकारबाट संगठनको मान, प्रतिष्ठा र गौरव बढाउन अतुलनीय एवं विशिष्ट योगदान पुर्‍याई वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सशस्त्र प्रहरी उपरीक्षकसम्मको पदमा बढुवा गर्न सकिनेछ ।’

प्रहरी संगठनमा चर्चित राष्ट्रिय खेलाडीहरू तल्लो तहमा मात्र रहेका छन् । विशेष बढुवा गर्दा पनि एक तहसम्म मात्र र इन्स्पेक्टरसम्म मात्र बढुवा गर्न सकिने प्रावधान छ । खेलाडीको सम्मान र संगठनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न यस्तो प्रावधान राखिएको हो ।

सशस्त्र प्रहरीबाट आएको मस्यौदामा अध्ययन र छलफल गरी गृह मन्त्रालयले अर्थ र कानुन मन्त्रालय पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *