कैलाश सिरोहिया नागरिकता प्रकरणमा नयाँ ट्वीस्ट, थप दुई जनाविरुद्ध पक्राउ पुर्जी लिने प्रहरीकाे तयारी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले उनलाई नागरिकता दिने तत्कालिन दुई सरकारी अधिकारी बिरुद्ध पक्राउ पूर्जी लिएर अनुसन्धान अघि बढाउने तयारी थालेकाे छ ।
स्वास्थ्य अस्वस्थता भएपछि सिरोहिया हाजिर जमानीमा बुधवार हिरासतमुक्त भएका छन् । उनी हिरासतमुक्त भएपनि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषासँग थप दुई जना बिरुद्ध पक्राउ अनुमती लिन छलफल भइरहेकाे छ । वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी लिन सरकारी वकिलसँग परामर्श थालेकाे हाे ।
अनुसन्धानको क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा दाहाल र भट्टराई संलग्न देखिएपछि दुबैविरुद्ध अदालतबाट पक्राउ अनुमति लिने तयारी भइरहेकाे प्रहरी स्रोतले बताएको छ । प्रहरीले यसअघि दाहालसँग बयान लिएको थियो। प्राप्त प्रमाण र बयानबीच मेल नखाएपछि पक्राउको अनुमति लिइएको स्रोतले बताएको छ ।
दाहालले धनुषा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि ‘आफ्नै जस्तो लागेको’बयान दिएका थिए।
अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा पहिलो पटक नागरिकता जारी गरेका भट्टराईलाई समेत औपचारिक अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि अदालतसँग पक्राउका लागि अनुमति मागिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी उच्च अधिकारीका अनुसार याे विषय छलफलमै रहेकाे छ । पक्राउ गर्नुपर्ने दुईमध्ये एकजना वृद्ध तथा अस्वस्थ्य रहेकाे र अर्का एकजनाले प्रहरीमा कागज गरेकाले हिरासतमा लिएर अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा टुङगाे नलागेकाे प्रहरीका उच्च अधिकारीकाे भनाई छ ।
सिरोहियाको नागरिकता प्रकरणमा थप दुईजना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बारे जिल्ला अदालत धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले आधिकारीक रुपमा बोल्न नमिल्ने बताएको छ ।
८ कात्तिकमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरीमा नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।
सिरोहियाको रिहाइबारे राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले चासो राख्ने नेपाल सरकारलाई उनको रिहाइको आग्रह गरेका थिए ।
सिरोहियाले धनुषाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्दाका बखत नागरिकता फाँटका कर्मचारी रहेका काशीराज दाहालले आफ्नो हस्ताक्षरमा उनलाई नागरिकता प्रमाणपत्र दिएको स्वीकार गरेका थिए ।
सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई हिरासतमुक्त गरेको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता रमण कर्णले बताएका छन् ।
प्रतिक्रिया