विपक्षी दलसँग जोडिँदै माधव नेपाल

नेपाली कांग्रेससहितका विपक्षी दलहरू मधेस प्रदेशबाट नयाँ समीकरणको कसरतमा जुटेका छन्। सहकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का शीर्ष नेताबीच छलफल भएको छ। नेकपा एकीकृत सत्तारुढ दल हो। देउवानिवासमा भएको छलफलमा जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारलाई निरन्तरता दिन नेताहरूबीच समझदारी बनेको स्रोतको दाबी छ।

यादव नेतृत्व जसपाबाट अशोक राईसहितका नेताहरू अलग भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र र एमाले अलग भएका छन्। माओवादी र एमाले सरकारबाट अलग भएसँगै जसपा नेता सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। चार दलका शीर्ष नेता सहभागी बैठकमा मधेस प्रदेशको वर्तमान सरकारलाई निरन्तरता दिने समझदारी भएको सहभागी एक नेताको दाबी छ।

मधेसमा २३ सांसदसहित एमाले पहिलो दल छ भने कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र नेकपा एसका ७ सांसद छन्। १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ।

मधेस प्रदेशसँगै बैठकमा गण्डकी र सुदूरपश्चिम सरकारका विषयमा पनि नेताहरूबीच छलफल भएको छ। नेकपा एसको नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकारको आयु अनिश्चित जस्तै छ। सत्ता गठबन्धनमै रहे पनि एमालेले नेकपा एसलाई साथै लिएर अघि बढ्न नचाहेको निकट स्रोतको दाबी छ। संघीय सरकारबाट नेकपा एसलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमालेबाट दबाब पर्दै आएको निकटहरूको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *