महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले वमन पुलिस ग्यालरीको को उद्‌घाटन समेत गरे । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गरे ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताए । समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलन तथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उनले चर्चा गरे ।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले महिला प्रहरीको नेतृत्व विकासमा उठेका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला प्रहरीको सहभागिताले शान्ति सुरक्षामा योगदान पुगेको उनले बताए ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका सहसचिवहरूका साथै विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिकाका विषयमा आ(आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रहरी निरीक्षक मनिषा बुढाथोकीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी प्रस्तुतीकरण गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूबीच नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी खुल्ला छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर