गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण
१६ जेठ २०८१ ११:०९
गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिए । महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गरेका छन् ।
शैक्षिक प्रशासन महाशाखाअन्तर्गत आव २०८०/८१ मा विनियोजित रु २० लाख रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।
प्रतिक्रिया