सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३र३ दिनको म्याद दिएको थियो ।
दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीको तयारी छ । १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई रेफर गराइयो र, काव्या अस्पताल पुर्याइएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।
प्रहरी प्रवक्ता डिएसपी अवाले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।
प्रतिक्रिया