चालु आवमा ३.९ प्रतिशतले आर्थिक वृद्धिः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष (आव)मा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका हुन् ।

अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि संकुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए ।

मन्त्री पुनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिए । प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान रहेको उनको भनाइ छ ।

‘चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहेको छ । राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको छ । आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ,’ उनले भने ।

उनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे । आर्थिक वर्ष २०७९/०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *