सगरमाथा आरोही सशस्त्रका इन्स्पेक्टर पौडेललाई सम्मान

सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत वरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भने, ‘यो सगरमाथा आरोहण मात्र होइन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो’ ।

उनले सपना जस्तै सोचिएको मिशन सफल भएको र संगठनले गर्व गर्ने अवस्था प्राप्त भएको बताउँदै आरोहण सफलताका लागि विशेष योगदान पु¥याउने मिङ्गमा डेविड शेर्पालाई मायाको चिनो समेत प्रदान गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आरोहण सफलतासँगै गौरव र उत्प्रेरणा मिलेको समेत बताए ।

सोही अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट ‘आईजी एपीएफ कमेन्डेसन’द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको संगठनको झन्डा पनि सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले आरोहण कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलको आरोहण तयारीदेखि सफलता पश्चात प्रधान कार्यालय हलचोक सम्मको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *