उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरूले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने बताएका छन् ।
किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिर्दै राष्ट्रपति पौडेलले पर्वहरूले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन् ।
किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन् ।
साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।
प्रतिक्रिया