सरकारले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलबार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो ।

सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ ।

सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९-२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३-२४ लुम्बीनी,२५-२६ कर्णाली प्रदेशको सुर्खेत,२७-२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९-३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । उनले मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरू जाेडिन सकिने बताए ।

सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उनकाे भनाइ छ । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए ।

उनले श्रमाधान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । श्रमाधान रोजगार मेला सरकारको सानो प्रयास मात्रै भएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *