कांग्रेसको मागः गृहमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस्

प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् । सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए । सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहो¥याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि राखे ।

‘हामी हाम्रो अडानमा दृढ छौं सम्माननीय सभामुख महोदय । लाखौँ सहकारी पीडितहरुलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्यूत हुनै छैनौं । सम्माननीय सभामुखज्युमार्फत देशभरका सहकारी पीडितहरुलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन,’ पाण्डेले भने ।

सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानूनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भए पनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा कांग्रेसले नसहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर