वेश्यावृत्तिका लागि नेपालका अदालतमा विवाह गरेर युवतीकाे चीनमा तस्करी

नेपालमा विभिन्न आवरणमा रहेका चिनियाँ आपराधिक गिरोहको नयाँ अपराध बाहिर आएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली युवतीको चीनमा तस्करी हुने गरेको खुलासा गरेको हो ।

ब्यूरोका अनुसार बबरमहल २६ लाई चिनियाँ नागरिकसँग अदालतमा बिवाह समेत गराएर उनको तस्करी भएको हो । गिरोहले चिनियाँसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड बनेपछी नेपाल आउन जान मिल्छ, भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारेर उनको बेचबिखन भएको हो । उनलाई चीनमा बेश्यावृत्तीमा लगाएको, यौन तथा श्रम शोषण भएको ब्यूरोले जनाएको छ । यसका लागि गिरोहले बबरमहल २६ को चिनियाँसँग काठमाडौं जिल्ला अदालतमा विवाह समेत गराएका थिए । बबरमहल २६ को बेचबिखनमा संलग्न मनमाया घलेलाई ब्यूरोले पक्राउ गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार पक्राउ परेकी आरोपी मनमायाले चिनियाँसँग विवाह गरेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएकी बबरमहल २६ लाई फकाएर चीन तस्करी गरेको अनुसन्धानमा खुलेको छ ।

चीनमा सुखद जीवनको आशामा रहेकी बबरमहल २६ लाई मनमायासहित गिरोहका सदस्यले एकवर्ष अघि चीनमा लगेका थिए । अनुसन्धानमा मनमायाले बबरमहल २६ लाई पाँच लाख रुपैयाँमा बेचेको समेत खुलेको छ । ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले यो पहिलो घटना नभएको बताए । उनले नेपालबाट युवतीहरु चीनमा श्रम शोषण, यौन शोषण, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यका लागि विभिन्न प्रलोभनमा तस्करी हुने गरेको बताए ।

उनका अनुसार बबरमहल २६ ले चीनमा आफुमाथि भएको शोषणको जानकारी गराएपछि उनको सकुशल उद्दार गरिएको हो । ‘हामी यो घटनाको बिस्तृत अनुसन्धान गरिरहेका छौं, ‘ एसपी मिश्रले पर्दाफाससँग भने, ‘यसमा संलग्न केही ब्यक्तिहरुको खोजी समेत भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *