बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् ।

गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन ।

सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे ।

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि अरनिको राजमार्ग प्रारम्भ हुने जडीबुटीमा र काभ्रेपलाञ्चोकको धुलिखेललदेखि सिन्धुली–बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।

धुलिखेलमा रहेको सूचना बोर्डमा मौसमअनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो ।

यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर  वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौं थापाथलीस्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरु र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो ।

उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरु ‘जिपिआरएस् मोडेम’मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरु ‘एलइडी डिस्प्ले’युक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।

चौबिसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुनसक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार) समेत जडान गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक विसं २०५४ सालदेखि विस्तार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर