कांग्रेसले समिति होइन, सरकार मागेको हो : एमाले

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने उनको भनाइ थियो ।

‘यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन । नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि कांग्रेस संवादको माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडि जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहन्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडि जान चाहन्छौं,’ बर्तौलाले भने ।

उनले अगाडि भने, ‘तर नेपाली कांग्रेस तयार छ ? तपाईहरुलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ । नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ । नेपाली कांग्रेसको त्यो बदनियत हो भन्नेकुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदांगो भएको छ ।’

उनले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर