जसपा नेपालको रिटमाथि आज सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा रोक लगाउन रिटमा माग गर्दै अध्यक्ष यादवले आइतबार रिट दायर गरेका थिए ।

आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी अध्यक्ष यादवले गरेका छन् । उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने उनले निवेदनमा जिकिर गरेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा आज सुनुवाइ हुनेछ ।

यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । जसपा नेपालले नयाँ पार्टी गठन गरेका ७ सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउन नमिल्ने भन्दै सभामुखलाई पत्रसमेत पठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर