सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप
वर्षेनी २७ हजार नेपालीको ज्यान लिने सुर्तीमा कर वढाउन नदिनका लागि उद्योगीहरुले भ्रमपूर्ण प्रचार गर्न थालेका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल, नेपालले गरेको अध्ययन अनुसार नेपालमा सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप छ भन्ने कुरालाई थप पुष्टि गर्दै नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्दै आएको करका विषयमा भ्रम छरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले उद्यमीहरुले गलत आंकडा प्रस्तुत गरेर सुर्तीमा ७१ प्रतिशतसम्म कर रहेको प्रचारवाजी गरेको बताए ।
नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशतमात्र रहेको बताउँदै उनले आयात कर, भन्सार करलगायतका कुरालाई समेत जोडेर करको दर बढी रहेको भ्रम छरेको स्पष्ट पारे ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी सदस्य तथा संयोजक डा। जयकुमार गुरुङ्गले जतिसुकै लचिलो भएर सुर्ती करको विषयमा अध्ययन गर्ने हो भने पनि ४० प्रतिशत ननाघेको स्पष्ट पारे । सुर्तीमा करसम्वन्धि अध्ययन गरिरहेका उनले अन्तशुल्क र स्वास्थ्यकरबाहेक मुल्य अभिवृद्धि करसम्मलाई मात्र सुर्तीमाथि लाग्ने करको रुपमा लिइने अन्तराष्ट्रिय मान्यता रहेको बताए ।
नेपालमा सुर्ती सेवनबाट २७ हजार मर्ने गरेकोमा अहिले आएर ३७ हजार ५ सय पुगेको ग्लोबल बर्डेन अफ डिजिजले स्पष्ट पारिसक्दा पनि सरकारमा चेत नआएको र उद्योगीको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेपमा पर्ने गरेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया